अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध ‘आर्थिक युद्धको घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढेको छ।
ट्रम्पको घोषणासँगै विश्वव्यापी बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९३ डलर नाघेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य पनि बढेर प्रतिब्यारेल लगभग ८६ डलर पुगेको छ। मध्यपूर्वी क्षेत्रमा लगातार बढ्दै गएको तनाव र आपूर्ति व्यवस्थामा आउन सक्ने अवरोधका कारण तेलको मूल्य लगातार पाँचौँ दिनसम्म बढेको हो।
ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै इरानमाथि इतिहासकै सबैभन्दा कडा र ठूलो आर्थिक प्रतिबन्ध लगाउने घोषणा गरेका छन्, जसलाई उनले ‘इकोनोमिक डी-डेको नाम दिएका छन्। यसका साथै, इरानलाई कुनै पनि प्रकारको आर्थिक वा व्यापारिक सहयोग, तेल तस्करी, वा वित्तीय सहायता पुर्याउने जुनसुकै देश र संस्थाले कठोर आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी पनि उनले दिएका छन्।
विश्वभर तेल आपूर्ति हुने प्रमुख मार्ग ‘स्ट्रेट अफ हर्मुजमा सुरक्षा जोखिम बढ्नु र संयुक्त अरब इमिरेट्सले इरानसँगको सबै व्यापारिक तथा वित्तीय सम्बन्ध निलम्बन गर्नुले पनि स्थिति थप जटिल बनाएको छ। अमेरिकी कदमले इरानको तेलका मुख्य खरीददार देशहरूसँगको व्यापारिक सम्बन्धमा समेत अन्योल सिर्जना गरिदिएको छ।




