जापानको अत्यधिक गर्मीका कारण चिडियाखानामा ३ वटा सिंहको मृत्यु

जापानमा जारी भीषण गर्मीका कारण टोकियोको पश्चिमी क्षेत्रमा रहेको तामा जुलोजिकल पार्कमा एक साताभित्र तीनवटा पोथी सिंहको ज्यान गएको छ। जुलाई २८ देखि अगस्ट २ को बीचमा ३, ११ र १५ वर्ष उमेरका तीनवटा सिंहको मृत्यु भएको चिडियाखाना प्रशासन तथा टोकियो महानगर सरकारले पुष्टि गरेका छन्।

पोष्टमार्टम रिपोर्ट अनुसार तीनै वटा सिंहमा शरीरबाट अत्यधिक पानीको मात्रा छुट्नु  र बहु-अङ्ग विफलता देखिएको छ। चिकित्सकहरूका अनुसार अत्यधिक गर्मीका कारण लाग्ने ‘हिटस्ट्रोक’  नै यिनीहरूको मृत्युको मुख्य कारण रहेको मानिएको छ। जुलाईको मध्यदेखि चिडियाखानामा रहेका १६ मध्ये १० वटा सिंहमा खाना नरुच्ने र आलस्य हुने जस्ता लक्षण देखिएका थिए।

अस्वस्थ देखिएपछि चिडियाखानाका कर्मचारीहरूले पङ्खा, वाटर स्प्रे, तथा स्लाइन र औषधिमार्फत सिंहहरूको उपचार गर्ने प्रयास गरेका थिए। यद्यपि, तीनवटा सिंहलाई बचाउन सकिएन। हाल अन्य केही सिंहहरूको स्वास्थ्य सुधारोन्मुख रहे पनि एक पोथी र दुई भाले सिंह अझै गम्भीर बिरामी रहेका छन्। सुरक्षाका कारण जुलाई २३ देखि नै चिडियाखानामा सिंह अवलोकन तथा सफारी बस सेवा स्थगित गरिएको छ।

सन् १९६४ देखि सिंहको प्रजनन् र प्रदर्शनी गर्दै आएको तामा जुलोजिकल पार्कमा गर्मीका कारण सिंहको मृत्यु भएको यो पहिलो घटना हो। विशेषज्ञहरूका अनुसार अत्यधिक ताक्रमसँगै बढेको सापेक्षित आर्द्रता  का कारण सिंहहरूले सासको माध्यमबाट आफ्नो शरीरको तापक्रम सन्तुलित राख्न नसक्दा यस्तो दुर्घटना हुन पुगेको हो।

यस वर्ष जापानमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेर भीषण गर्मीको नयाँ रेकर्ड कायम भएको छ। गर्मीका कारण देशभरी ४३ हजारभन्दा बढी मानिसहरू अस्पताल भर्ना भइसकेका छन् भने सरकारले नागरिकहरूलाई सतर्क रहन र गर्मीबाट बच्ने उपायहरू अपनाउन आग्रह गरिरहेको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ