काठमाडौँ, साउन १–सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलविरुद्ध विशेष अदालतमा पूरक अभियोग पत्र दायर गरेको छ। विभागले लामो अनुसन्धानपछि पौडेलले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको र त्यसलाई लुकाउन मतियारको भूमिका खेलेको आरोपमा बिहीबार मुद्दा दर्ता गरेको हो।
विशेष अदालतका अनुसार विभागले प्रतिवादी विष्णु पौडेलमाथि २० करोड ९० लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको दाबी गर्दै सोही बराबरको बिगो माग गरेको छ। यसका साथै पौडेलको नाममा एभरेष्ट बैंक लिमिटेडमा रहेको खातामा फेला परेको ६ लाख ३४ हजार ५४५ रुपैयाँ ८४ पैसा समेत जफत गर्न मागदाबी गरिएको छ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा विभागले पौडेलसहित कुल ६ जना व्यक्ति र १० वटाकम्पनी गरी १६ जनालाई प्रतिवादी बनाएको छ। उनीहरूमाथि गैरकानूनी रूपमा आर्जित सम्पत्तिको स्रोत लुकाउने र ओसारपसार गर्ने कार्यमा मतियार बनेर सहयोग गरेको आरोप छ। यस मुद्दामा विवादित व्यवसायी दीपक भट्ट, शुभी अग्रवाल र उपेश बस्नेतविरुद्ध पनि पूरक मुद्दा दायर गरिएको छ, जसमा भट्टसँग ४७ करोड र अग्रवालसँग ३३ करोड रुपैयाँ बिगो दाबी गरिएको छ।



