अमेरिकी सरकारले नेपाली नागरिकहरूलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (TPS) सुविधा पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। अमेरिकी आप्रवासन सेवाका अनुसार नेपालका लागि यो सुविधाको अवधि एक वर्षअघि नै समाप्त भइसकेको भए तापनि यसलाई निरन्तरता दिने वा खारेज गर्ने भन्ने औपचारिक निर्णय हुन बाँकी थियो। हाल अमेरिकी सरकारले नेपालमा टीपीएस कायम राख्नुपर्ने कुनै कानुनी आधार नरहेको निष्कर्ष निकाल्दै यसलाई अन्त्य गरेको छ।
यो निर्णयले टीपीएस सुविधाको सहारामा अमेरिकामा बसोबास गर्दै आएका हजारौँ नेपाली नागरिकहरूलाई प्रत्यक्ष जोखिममा पारेको छ। टीपीएसअन्तर्गत योग्य व्यक्तिहरूले अमेरिकामा अस्थायी रूपमा बस्न, वैधानिक रूपमा काम गर्न र देशनिकालाबाट सुरक्षा पाउँदै आएका थिए। तर, अब यो सुविधा समाप्त भएसँगै अन्य कुनै वैकल्पिक वैध आप्रवासन हैसियत नभएका नेपालीहरूले अमेरिका छाड्नुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको छ।
टीपीएस सुविधा खारेजीको यो निर्णय नेपालमा मात्र सीमित नभई अन्य विभिन्न देशहरूका नागरिकका हकमा पनि लागू गरिएको छ। अमेरिकी सरकारले जारी गरेको सूचीअनुसार नेपालसँगै हाइटी, सिरिया, यमन, अफगानिस्तान, क्यामरुन, होन्डुरस, निकारागुवा, भेनेजुएला, दक्षिण सुडान, म्यानमार (बर्मा), सोमालिया र इथियोपिया लगायतका देशका नागरिकहरूका लागि दिइएको टीपीएस सुविधा पनि समाप्त गरिएको छ।
टेम्पोररी प्रोटेक्टेड स्टाटस अमेरिकी सरकारले प्रदान गर्ने एक विशेष र अस्थायी कानुनी संरक्षण हो। यो सुविधा मुख्यतया स्वदेशमा भीषण प्राकृतिक विपत्ति वा अन्य कुनै असाधारण संकटका कारण तुरुन्तै फर्कन नसक्ने अवस्थामा रहेका विदेशी नागरिकहरूलाई अमेरिकामा सुरक्षापूर्वक रहनका लागि उपलब्ध गराइन्छ।



