त्रिशुली थ्री-‘ए’ सुरुङभित्र फसेका नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनलाई उद्धार टोलीले १० दिनपछि आज बिहान जीवितै उद्धार गर्न सफलता प्राप्त गरेको छ।
आयोजना प्रमुख आवास ओझाका अनुसार उद्धार टोलीले पावरहाउस पुग्ने सुरुङको बाटोमा उनीहरूलाई भेटेर निकालेको हो। सुरुङभित्र अँध्यारो भएकाले पावरहाउसबाट कति दूरीमा भेटिएका हुन् भन्ने स्पष्ट भइसकेको छैन र उद्धार टोली अझै पावरहाउससम्म पुग्न बाँकी नै छ।
६० मेगावाटको यो आयोजना ओभरहलिङ (समग्र मर्मत) का लागि बन्द गरेर काम भइरहेका बेला बाढी/पहिरोका कारण नदीबाट पानी छिर्ने सुरुङ बन्द गरिएको थियो। आयोजनाका अनुसार सुरुङभित्र रहेको विद्युत् गृहमा करिब ४२ जना इन्जिनियर तथा कर्मचारीहरू फसेको अनुमान गरिएको छ।
उद्धार गरिएका सञ्जय साहका अनुसार भित्र अन्य मानिसहरू पनि जीवितै रहेका छन्, तर यकिन सङ्ख्या भने अझै खुल्न बाँकी छ।



