सन् २०२५ को जनवरीमा अमेरिकी ट्रम्प प्रशासनले नेपालमा पहिरो जोखिमयुक्त क्षेत्रहरूको पहिचान र अनुगमन गर्ने दीर्घकालीन प्राकृतिक विपद् नियन्त्रण कार्यक्रमको बजेट रोकेको थियो। हालैका दिनहरूमा नेपालमा गएको प्राकृतिक विपद्लाई उक्त कार्यक्रमले रोक्न नसक्ने भए तापनि, भविष्यमा पर्न सक्ने जोखिमबाट जोगिन आवश्यक पूर्वतयारीका लागि यो कार्यक्रम पहिलो र महत्त्वपूर्ण कदम थियो।
अमेरिकाको डोनाल्ड ट्रम्प प्रशासनले नेपालमा हिमतालको अनुगमन र प्राकृतिक विपद्को पूर्वसूचना दिँदै आएको महत्वपूर्ण अन्तर्राष्ट्रिय कार्यक्रमको बजेट कटौती गरेको समाचार बाहिर आएको छ। अमेरिकी निकाय युएसएआडी र नासाको सहकार्यमा सन्चालित ‘सर्विर-हिन्दुकुश हिमालय’ नामक यस कार्यक्रममार्फत नेपालका बाढी, पहिरो र खतरनाक हिमतालहरूको निरन्तर निगरानी गरिँदै आएको थियो।
अमेरिकी वैदेशिक सहायता समीक्षाहरूका क्रममा जलवायु परिवर्तनसँग सम्बन्धित बजेट रोक्ने निर्णयभएसँगै यो परियोजना अचानक बन्द भएको थियो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार वैज्ञानिकहरूले अन्तरिक्षीय उपग्रह (स्याटेलाइट) डाटाको मद्दतले जोखिमयुक्त हिमाली क्षेत्रहरूको नक्साङ्कन र विपद् व्यवस्थापनमा पुर्याउँदै आएको प्राविधिक सहयोग बजेट कटौतीका कारण रोकिएको हो।
नेपालमा हालै गएको विनाशकारी बाढी र हिमपहिरोपछि उक्त पूर्वसूचना संयन्त्र बन्द हुनुको गम्भीर असरबारे विश्वव्यापी रूपमा बहस सुरु भएको छ। पूर्वसूचना प्रणाली सुचारु रहेको भए सम्भावित क्षति न्यूनीकरण गर्न र मानिसहरूको ज्यान जोगाउन सहयोग पुग्न सक्ने जलवायु विज्ञहरूले टिप्पणी गरेका छन्।




