भगवान् श्रीकृष्णको जन्मोत्सवका अवसरमा आज देशभर धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी श्रीकृष्ण जन्माष्टमी पर्व उत्साहका साथ मनाइँदै छ।
बिहानैदेखि ललितपुरस्थित ऐतिहासिक पाटन कृष्ण मन्दिरसहित देशका विभिन्न भागमा रहेका श्रीकृष्ण मन्दिरहरूमा पूजा-अर्चना र दर्शनका लागि भक्तजनको ठूलो भीड लागेको छ। श्रद्धालुहरू लामो लाइनमा बसेर भजन-कीर्तन र श्रीकृष्णको नाम जप गर्दै दर्शनको प्रतीक्षा गरिरहेका छन्।

पाटनको कृष्ण मन्दिरमा अत्यधिक भीडलाई ध्यानमा राख्दै पूजा व्यवस्थापन र सुरक्षा व्यवस्था कडा पारिएको छ। काठमाडौँ उपत्यकाका साथै मोफसलका मन्दिरहरूमा पनि बिहानैदेखि विशेष चहलपहल र उत्सवमय वातावरण रहेको छ।
श्रीकृष्णलाई धर्म, सत्य, प्रेम र निष्काम कर्मका प्रतीकका रूपमा पूजिन्छ। महाभारत युद्धमा अर्जुनलाई दिएको उपदेशमार्फत उहाँले भक्तियोग, ज्ञानयोग र कर्मयोगको सार्वकालिक मार्गदर्शन गर्नुभएको धार्मिक विश्वास छ।

यस दिन भक्तजन दिनभर निराहार व्रत बस्ने, आरती तथा भजन-कीर्तनमा सहभागी हुने गर्छन्। भगवान् श्रीकृष्णको अवतार मध्यरातमा भएको मानिने हुनाले सोही समयमा मुख्य जन्मोत्सव मनाइन्छ।



