काठमाडौँको नयाँ बानेश्वरस्थित थापा गाउँ ब्यांक्वेटमा आयोजित एक कार्यक्रमका बीच सातवटा राजनीतिक दलहरूले एकीकृत भई सात दलीय अग्रगामी मोर्चाको औपचारिक घोषणा गरेका छन्। मधेस, थरूहट, दलित, उत्पीडित वर्ग तथा सीमान्तकृत समुदायका अधिकार, पहिचान र राजनीतिक मुद्दाहरूलाई संयुक्त रूपमा अघि बढाउने उद्देश्यका साथ यो मोर्चाको गठन गरिएको हो।
मोर्चा घोषणा कार्यक्रममा आबद्ध दलका प्रमुख नेताहरू तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्मा तथा अध्यक्ष सन्तोष परियार, नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरी, र जनमत पार्टीका अध्यक्ष डा. सीके राउत लगायतका शीर्ष नेताहरू सहभागी भई मोर्चाप्रति समर्थन र प्रतिबद्धता व्यक्त गरेका छन्।



