काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीलगायत पूर्वी जिल्लाहरूमा भएका हालैका दुःखद तथा संवेदनशील घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। मंगलबार एक वक्तव्य जारी गर्दै उनले घटनाको जरोसम्म पुगेर स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गरेका छन्।
सभापति लामिछानेले जारी गरेको विज्ञप्तिमा हिंसा र मुठभेडबाट कुनै पनि समस्या वा असन्तुष्टिको समाधान सम्भव नरहेको स्पष्ट पारिएको छ। उनले नेपाली समाजको मुख्य शक्ति र सौन्दर्य नै बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सामाजिक सद्भाव भएको उल्लेख गर्दै कुनै पनि प्रकारका उत्तेजना र अफवाहको पछि नलागी संयमता अपनाउन आम नागरिकसँग अपिल गरेका छन्।
यसैगरी, घटनामा परी ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ। विज्ञप्तिमा घाइते नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पीडित पक्षलाई उचित न्याय, उचित क्षतिपूर्ति र निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइएको छ।
पार्टीका तर्फबाट स्थिति सामान्य बनाउन र शान्ति-सुरक्षा कायम राख्न सरकार तथा स्थानीय प्रशासनसँग निरन्तर सहजीकरण भइरहेको जानकारी गराइएको छ। साथै, लामिछानेले यस घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न राजनीतिक दलहरूलाई आग्रह गर्दै आफ्ना स्थानीय कमिटी र कार्यकर्ताहरूलाई शान्ति तथा सद्भाव कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।



