ब्राजिलका स्टार फरवार्ड नेइमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने संकेत गरेका छन्। विश्वकप २०२६ को अन्तिम १६ को खेलमा ब्राजिल नर्वेसँग २–१ ले पराजित भएसँगै ३४ वर्षीय नेइमार भावुक बन्दै राष्ट्रिय टोलीबाट आफ्नो यात्रा अन्त्य हुन लागेको संकेत गरेका हुन्। पिँडुलाको चोटका कारण यस विश्वकपमा जम्मा ३८ मिनेट मात्रै मैदान बिताएका उनी खेलपछि निकै भावुक देखिएका थिए।
खेलपछि ब्राजिलियन टेलिभिजन ‘जीई टिभी’सँग संक्षिप्त कुराकानी गर्दै नेइमारले भने, ‘मैले प्रयास गरेँ, धेरै प्रयास गरेँ। अब सकियो। मैले यहीँबाट सुरु गरेको थिएँ, यहीँ आएर अन्त्य भयो।’ उनले सन् २०१० मा अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेलबाट जुन स्टेडियममा डेब्यु गरेका थिए, नर्वेविरुद्धको खेल पनि सोही मैदानमा भएको हुनाले उनी मैदानमै रोएका थिए।
यदि नेइमारले औपचारिक रूपमा संन्यास घोषणा गरेमा उनको ब्राजिलका लागि अन्तर्राष्ट्रिय करिअर १३० खेलमा ८० गोल र ५८ असिस्टसहित टुंगिनेछ। क्लब फुटबलमा धेरै उपाधि जितेका उनले ब्राजिलको सिनियर टोलीबाट भने सन् २०१३ को कन्फेडेरेसन्स कपबाहेक अन्य कुनै ठूलो उपाधि जित्न सकेनन्। नर्वेसँगको यो हारसँगै ब्राजिलको विश्वकप उपाधि खडेरी (सन् २००२ देखि) थप लम्बिएको छ।



