फ्रान्स र स्पेनमा डढेलोको वितण्डा: २ लाख २० हजारभन्दा बढी मानिस विस्थापित

काठमाडौँ (एजेन्सी) फ्रान्सको दक्षिण-पश्चिमी भूभाग र स्पेनको मध्य क्षेत्रमा तीव्र गतिमा फैलिएको भीषण डढेलोका कारण हालसम्म २ लाख २० हजारभन्दा बढी नागरिक घरपालुवा छाडी सुरक्षित स्थानतर्फ स्थानान्तरण हुन बाध्य भएका छन्। अत्यधिक गर्मी, सुक्खा मौसम र तीव्र हावाका कारण अनियन्त्रित बनेको डढेलोका कारण युरोपका यी दुई राष्ट्रमा आपत्कालीन अवस्था सिर्जना भएको छ।

 फ्रान्सको जिरोन्ड  र ल्यान्ड्स क्षेत्रबाट मात्रै करिब २ लाख मानिसहरूलाई सुरक्षित स्थलतर्फ सारिएको छ। आगोको लप्का पर्यटकीय क्षेत्र क्याप फेरेट सम्म पुगेपछि स्थलमार्ग थुनिएकाले हजारौँ सर्वसाधारण तथा पर्यटकहरूलाई डुङ्गामार्फत समुन्द्री बाटो हुँदै अर्काचोन  सहरतर्फ लगिएको छ। फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले स्थिति नियन्त्रणमा लिन र सर्वसाधारणको उद्धारका लागि फ्रान्सेली सेनालाई समेत मैदानमा उतारेका छन्।

 स्पेनको राजधानी म्याड्रिड पश्चिमतर्फका तीन वटा ठूला डढेलोहरू आपसमा मिसिएर एउटै विशाल आगलागीमा परिणत भएपछि स्थिति नियन्त्रणबाहिर पुगेको छ। स्पेन सरकारले डढेलोकै कारण देशको इतिहासमै पहिलोपटक राष्ट्रिय आपत्काल घोषणा गरेको छ। स्पेनमा २५ हजारभन्दा बढी मानिसहरू विस्थापित भएका छन् भने झन्डै ४० हजार मानिसहरूलाई घरभित्रै झ्याल-ढोका बन्द गरेर सुरक्षित रहन निर्देशन दिइएको छ।

स्थिति जटिल बन्दै गएपछि फ्रान्स र स्पेन दुवै देशले युरोपेली सङ्घसमक्ष सहयोगको याचना गरेका छन्। युरोपेली सङ्घको सहयोगअन्तर्गत क्रोएसिया, पोर्चुगल, चेक गणतन्त्र र स्लोभाकियाबाट विशेष आगो निभाउने विमान तथा ‘ब्ल्याक ह्वाक’  हेलिकप्टरहरू परिचालन गरिएका छन्।

 जलवायु परिवर्तनका कारण उत्पन्न अत्यधिक तातो हावा र हावाको प्रतिकूल गतिका कारण आगो निभाउन अग्निभञ्जक दलहरूलाई कठिनाइ भइरहेको छ। अधिकारीहरूका अनुसार हालसम्म कुनै मानवीय क्षति नभए पनि दर्जन अग्निनियन्त्रकहरू घाइते भएका छन्।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ