दक्षिणी थाइल्यान्डमा समन्वयात्मक आगजनी, दर्जनौँ भौतिक संरचनामा क्षति

दक्षिणी थाइल्यान्डका विभिन्न स्थानमा शनिबार राति एकैसाथ दर्जनौँ आगजनी तथा बम विस्फोटका घटना घटेका छन्। थाइ सेना तथा आन्तरिक सुरक्षा टोलीका अनुसार नाराथिवात , याला  र पट्टानी प्रान्तका कम्तीमा ५१ स्थानमा एकैसाथ यी हिंसात्मक घटना गराइएका हुन्।  

आक्रमणकारीहरूले स्थानीय सरकारी कार्यालयका भवनहरू, सेभेन-इलेभेन पसल, दूरसञ्चारका टावर तथा विद्युत्‌का पोलहरूमा आगजनी गरेका छन्। केही स्थानमा गाडीहरूमा समेत आगो लगाइएको छ। सडकमा सवारी साधन रोक्नका लागि तिखा काँडाहरू छरिएका थिए भने कतिपय क्षेत्रमा गोली चलेको र बम विस्फोट भएको विवरण प्राप्त भएको छ।  

घटनामा कम्तीमा ३ जना घाइते भएका छन्, जसमध्ये नाराथिवातमा सडक किनारमा भएको बम विस्फोटमा दुई महिला र एक पुरुष घाइते भएका हुन्। स्थिति नियन्त्रणमा लिन र थप क्षति हुन नदिन सेनाले नाराथिवात क्षेत्रमा रातभर कर्फ्यू जारी गर्नुका साथै गस्ती र सुरक्षा सतर्कता कडा पारेको छ।  

यस आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन। यद्यपि, मुस्लिम बाहुल्य मानिने थाइल्यान्डको दक्षिणी क्षेत्रमा सन् २००४ देखि नै पृथकतावादी विद्रोहीहरूले बढी स्वायत्तताको माग गर्दै आएका छन्। थाइल्यान्डका प्रधानमन्त्री र मन्त्रीहरूको दक्षिणी क्षेत्र भ्रमण तालिका तय भएकै समयमा सुरक्षा स्थिति भड्काउने उद्देश्यले यो समन्वयात्मक आक्रमण गराइएको अनुमान गरिएको छ।  

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ