चीनको तिब्बत स्वायत्त क्षेत्रमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ भने दर्जानौँ मानिस घाइते भएका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार तिब्बतको नाग्चु शहर अन्तर्गत पर्ने बाचेन काउन्टीलाई केन्द्रबिन्दु बनाएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु पृथ्वीको सतहभन्दा करिब १८ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पको धक्का राजधानी ल्हासासहित आसपासका क्षेत्रमा समेत कडा रूपमा महसुस गरिएको थियो। यस प्रकोपमा परी ३०० भन्दा बढी घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन् भने धेरै स्थानमा पहिरो जाँदा यातायात र सञ्चार सेवा अवरुद्ध भएको छ।
घटनालगत्तै उद्धार टोलीहरू घट्नास्थलमा परिचालन गरिएका छन्। चिनियाँ अधिकारीहरूले राहत र उद्धार कार्यलाई तीव्रता दिँदै प्रभावित क्षेत्रमा अस्थायी पाल, खाद्यान्न, लत्ताकपडा र औषधिजन्य सामग्री पठाउन सुरु गरेका छन्। ग्रामीण तथा दुर्गम हिमाली क्षेत्र भएकाले उद्धार कार्यमा चुनौती थपिएको र मृतक तथा घाइतेको संख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ।



