क्यालिफोर्नियामा अमेरिकी वायुसेनाको B-52 बमवर्षक विमान दुर्घटना

अमेरिकाको क्यालिफोर्नियास्थित एड्वार्ड्स एयर फोर्स बेसमा सोमबार बिहान एक दुःखद दुर्घटना भएको छ। अमेरिकी वायुसेनाको शक्तिशाली B-52 स्ट्र्याटोफोर्ट्रेस बमवर्षक विमान उडान भर्ने बित्तिकै दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै आठ जनाको मृत्यु भएको छ।  

वायुसेनाका अधिकारीहरूका अनुसार यो दुर्घटना एउटा नियमित परीक्षण मिसनका क्रममा भएको हो। विमानमा सैन्य अधिकारीहरू, सरकारी नागरिक कर्मचारी र ठेकेदारहरूको मिश्रित टोली सवार थिए। विमान निर्माता कम्पनी बोइङले आफ्ना दुई कर्मचारी पनि उक्त दुर्घटनामा परेको पुष्टि गरेको छ। यो उडान वायुसेनाको राडार आधुनिकीकरण कार्यक्रमको परीक्षणका लागि गरिएको थियो।

सोमबार बिहान करिब ११:२० बजे विमान धावनमार्गबाट उड्ने बित्तिकै मरुभूमि क्षेत्रमा खसेर भीषण आगलागी भएको थियो। दुर्घटना लगत्तै आकाशमा कालो धुवाँको ठूलो मुस्लो देखिएको थियो भने हवाई फुटेजहरूमा विमानको अवशेष समेत बाँकी नरहने गरी जलेको देखिएको छ। अधिकारीहरूले दुर्घटना यति भयानक थियो कि विमानमा कोही पनि जीवित रहने सम्भावना नरहेको बताएका छन्।  

दुर्घटनापछि एड्वार्ड्स एयर फोर्स बेसको हवाई मैदान पूर्ण रूपमा बन्द गरिएको छ र त्यहाँ आउने अन्य विमानहरूलाई अन्यत्रै डाइभर्ट गरिएको छ। दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन र यसको विस्तृत छानबिन गर्न करिब ६ महिना लाग्न सक्ने वायुसेनाका अधिकारीहरूले जनाएका छन्। B-52 विमान सन् १९५५ देखि अमेरिकी सेनामा प्रयोग हुँदै आएको एक भरपर्दो र लामो दूरीको आणविक क्षमतायुक्त बमवर्षक विमान हो।  

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ