काठमाडौँ वैशाख २७– नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै सच्चा कम्युनिस्टहरूबीचको एकता अहिलेको अनिवार्य आवश्यकता बनेको बताउनुभएको छ। २६औँ निर्मल लामा स्मृति सभालाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो।
प्रचण्डले कम्युनिस्ट आन्दोलनको इतिहास उतारचढावपूर्ण रहेको उल्लेख गर्दै भन्नुभयो, “अन्तर्राष्ट्रिय रूपमा पनि ठुलठुला बहस र विभाजनको शृङ्खला चल्दै आएको छ, तर अहिले नेपालको सन्दर्भमा साम्राज्यवादी हस्तक्षेप बढ्दै गएकाले एकताको महत्त्व झन् बढेको छ।””देशमा वैदेशिक हस्तक्षेप बढ्दो छ र राष्ट्रियता संकटमा पर्ने जोखिम देखिएको छ। यस्तो बेला हामी फुट्ने होइन, जुट्ने बेला हो। उनले कम्युनिस्टहरूलाई समाप्त पार्न देशी-विदेशी शक्तिहरू सक्रिय रहेको भन्दै कार्यकर्ताहरूलाई सजग रहन समेत आग्रह गर्नुभएको छ। यसअघि पनि प्रचण्डले विभिन्न मञ्चहरूमा कम्युनिस्ट एकताको पक्षमा वकालत गर्दै आउनुभएको थियो।


