अमेरिकाद्वारा कोइला र ग्याँस प्लान्टको उत्सर्जनसम्बन्धी नियम खारेज

अमेरिकाको ट्रम्प प्रशासनले कोइला र प्राकृतिक ग्याँसबाट सञ्चालित विद्युत गृहहरूबाट हुने कार्बन उत्सर्जनमा लगाइएको सीमा खारेज गरेको छ। अमेरिकी वातावरणीय संरक्षण एजेन्सीले पूर्वराष्ट्रपति जो बाइडेनको पालामा लागू गरिएका जलवायुसम्बन्धी नियमहरूलाई खारेज गर्ने निर्णय गरेको हो। यसका साथै, एजेन्सीले भविष्यका प्रशासनहरूलाई पनि ऊर्जा क्षेत्रमा यस्ता कडा नियमहरू लागू गर्नबाट रोक्ने कदम चाल्ने जनाएको छ।

 ईपीएका प्रमुख ली जेल्डिनले बाइडेन प्रशासनका नियमहरूले निकायको अधिकार क्षेत्रभन्दा बाहिर गएर काम गरेको र विद्युत गृहहरूमा अति जटिल प्रविधि लागू गर्न बाध्य पारेको बताएका छन्। सरकारको यो कदमले उपभोक्ताहरूका लागि बिजुलीको मूल्य सस्तो हुने, अमेरिकी उद्योग तथा व्यवसायलाई राहत मिल्ने र करिब ३१० अर्ब डलरभन्दा बढी बचत हुने दाबी गरिएको छ। ट्रम्प प्रशासनले यस निर्णयलाई अमेरिकी ऊर्जा क्षेत्रलाई प्रवर्धन गर्ने नीति अन्तर्गत अघि बढाएको छ।

अर्कोतर्फ, वातावरणविद् तथा स्वास्थ्य क्षेत्रका निकायहरूले यस निर्णयको तीव्र विरोध गरेका छन्। अमेरिकाको कुल हरितगृह ग्यास  उत्सर्जनमा ऊर्जा क्षेत्रको योगदान करिब २५ प्रतिशत रहेको छ। यस्ता नियम खारेज गर्दा सर्वसाधारणको स्वास्थ्य, वातावरणीय सुरक्षा र जलवायु परिवर्तन नियन्त्रणको प्रयासमा गम्भीर असर पर्ने भन्दै वातावरणीय समूहहरूले यस निर्णयविरुद्ध अदालत जाने चेतावनी दिएका छन्।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ