समयमै कांग्रेसको १५औँ महाधिवेशन गर्ने निर्णय, काठमाडौँमा जुट्दै नेतृत्व

नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी २०८३ असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने निर्णयलाई यथावत् राखेको छ। केन्द्रीय समितिको बैठकले विधान, संविधान र प्रचलित कानुन अनुसार निर्धारित समयमै महाधिवेशन गर्ने निर्णय गरेको हो।  

भदौ महिनामा हुन सक्ने अत्यधिक वर्षाका कारण वडा तथा पालिका तहका निर्वाचन प्रभावित हुन सक्ने सम्भावनालाई ध्यानमा राखिएको छ। यसका लागि केन्द्रीय निर्वाचन समितिले सम्बन्धित जिल्ला निर्वाचन समितिसँग समन्वय गरी तल्लो तहको निर्वाचन कार्यतालिकामा आवश्यक सामान्य हेरफेर गर्न सक्ने व्यवस्था गरिएको छ।  

 महाधिवेशनको तयारीका लागि आवश्यक समितिहरू गठन गर्ने तथा संयोजक र सदस्य नियुक्त गर्ने जिम्मेवारी पार्टी सभापति गगनकुमार थापालाई दिइएको छ। महाधिवेशन व्यवस्थापन समिति पनि सभापति थापाकै संयोजकत्वमा रहनेछ, जसले आवास, खाद्य, मञ्च व्यवस्थापन, अतिथि सत्कार र स्वास्थ्यलगायतका उपसमितिहरू गठन गर्नेछ।  

 पार्टी विधानलाई समयानुकूल र प्रभावकारी बनाउन महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा विधान संशोधन समिति गठन गरिएको छ। साथै महाधिवेशन प्रक्रियालाई पारदर्शी र विवादरहित बनाउन नियमावली २०७६ र निर्वाचन निर्देशिका २०८३ मा आवश्यक संशोधन गरिनेछ। महाधिवेशन समयमै सम्पन्न गर्न विधानको धारा ३५ (२) घ सम्बन्धी व्यवस्थालाई निलम्बन गर्ने निर्णय पनि गरिएको छ।

 क्रियाशील सदस्यताको डिजिटल अभिलेख व्यवस्थित गर्दै सदस्यता वितरण, नवीकरण र अद्यावधिकलाई सरल बनाइनेछ। प्रक्रिया पूरा गरेका सदस्यहरूलाई पार्टी परिचयपत्र उपलब्ध गराइनेछ भने छुटेका सदस्यहरूलाई निश्चित समय तोकेर पुनः अद्यावधिक गर्ने अवसर दिइनेछ।  

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ