फिफा विवाद: इन्फान्टिनोले मागे माफी, तर अध्यक्ष पदमै रहने

विश्व फुटबल महासंघका अध्यक्ष जियानी इन्फान्टिनोले पुरुष तथा महिला विश्वकप लगायतका प्रतियोगिताहरूमा निजी लगानीकर्ता भित्र्याउने विवादित प्रस्तावमा भएका गल्तीप्रति सार्वजनिक रूपमा माफी मागेका छन्। निजी लगानीकर्ताहरूलाई प्रतियोगिताको स्वामित्वको हिस्सा बेच्ने योजनाको चौतर्फी विरोध भएपछि उनले फिफा काउन्सिल र २११ वटै सदस्य राष्ट्रहरूलाई संयुक्त पत्र पठाउँदै आफूहरूबाट गल्ती भएको स्वीकारेका हुन्।

चौतर्फी आलोचना र असन्तोष बढेपछि इन्फान्टिनोले मोरक्कोको रबाटमा फिफा व्यवस्थापन बोर्डको संकटकालीन बैठक डाकेका थिए। उक्त बैठकपछि फिफाद्वारा जारी विज्ञप्तिमा इन्फान्टिनोलाई बोर्ड र वरिष्ठ पदाधिकारीहरूले पूर्ण समर्थन दोहोर्याएको उल्लेख छ। गल्तीहरू महसुस गरिए पनि फिफाले इन्फान्टिनोको नेतृत्वमाथि विश्वास कायम राख्दै उनी अध्यक्ष पदमै रहने स्पष्ट पारेको छ।

प्रस्ताव सार्वजनिक भएलगत्तै युरोपेली फुटबल महासंघले इन्फान्टिनोमाथिको विश्वास गुमेको घोषणा गरेको थियो। युइएफएले यस कदमलाई अपारदर्शी र खेलको मर्यादाविपरीत भएको बताउँदै कानुनी कारबाहीको चेतावनी समेत दिएको छ। साथै, बेलायत, क्यानडा लगायतका राष्ट्रिय संघ र राजनीतिक नेतृत्वले पनि उनको नेतृत्व क्षमतामाथि प्रश्न उठाएका छन्।

अध्यक्ष पद जोगिए पनि इन्फान्टिनोका लागि चुनौती समाप्त भएको छैन। सन् २०२७ मार्चमा हुने फिफा अध्यक्षको निर्वाचनका लागि अन्य आकांक्षीहरूले आगामी नोभेम्बर १८ सम्म उम्मेदवारी दर्ता गर्न सक्नेछन्। युरोपेली महासंघले नयाँ उम्मेदवार खडा गर्ने प्रयास गरिरहेकाले आगामी दिनमा इन्फान्टिनोले आफ्नो साख र विश्वास पुनः स्थापित गर्न कडा मेहेनत गर्नुपर्ने देखिन्छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ