संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा भएको भेटमा जापानी विदेशमन्त्री मोटेगी तोसिमित्सुले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। उहाँले बाढीपीडित, शोकसन्तप्त परिवार र प्रभावितहरूमा समवेदना प्रकट गर्दै उद्धार र राहतका लागि नेपाल सरकारले गरिरहेको प्रयासको प्रशंसा गर्नुभयो।
जापानले आपत्कालीन उद्धारका साथै मध्यम र दीर्घकालीन पुनःस्थापनाको चरणसम्म नेपाललाई निरन्तर सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ। आपत्कालीन राहत सामग्रीका साथै विपद्मा बेपत्ता भएकाहरूको पहिचानका लागि विज्ञ टोली र डिएनए (DNA) परीक्षण उपकरणसमेत उपलब्ध गराउने विषयमा जापानले प्रतिबद्धता व्यक्त गरेको छ।
परराष्ट्रमन्त्री शिशिर खनालले जापान सरकार र जापानी जनताले व्यक्त गरेको समवेदना तथा ऐक्यबद्धताका लागि धन्यवाद दिनुभयो। साथै, विपद्मा हराइरहेका जापानी नागरिकसहित सम्पूर्ण विदेशी नागरिकको खोज तथा उद्धारका लागि नेपाल सरकारले प्राथमिकताका साथ काम गरिरहेको जानकारी गराउनुभयो।
भेटमा नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका विषयमा पनि छलफल भएको थियो। आगामी नोभेम्बरमा नेपालमा आयोजना हुने ‘नेपाल–जापान फेस्टिभल’ले दुई देशको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने र प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारसँग विकास साझेदारी निरन्तर रहनेबारे भेटमा विचार-विमर्श भएको छ।



