अमेरिकी ट्रम्प प्रशासनले इजरायलका लागि २.८ बिलियन अमेरिकी डलर (करिब ३ खर्ब ७० अरब रुपैयाँभन्दा बढी) बराबरको नयाँ सैन्य हतियार प्याकेजको तयारी गरिरहेको छ। यस प्याकेज अन्तर्गत इजरायललाई अत्यन्तै विनाशकारी मानिने १-१ टन (२००० पाउण्ड) तौलका ४०,००० वटा बमहरू उपलब्ध गराइनेछ।
अमेरिकी अधिकारीहरूका अनुसार प्रस्तावित प्याकेजमा २०,००० वटा ‘MK-84’ र २०,००० वटा ‘BLU-117’ किसिमका भारी बमहरू समावेश छन्। यी बमहरूले जमिन माथि र भित्री सुरुङ वा मजबुत संरचनाहरूमा ठूलो क्षति पुर्याउन सक्छन्। यो सम्झौताको अधिकांश रकम अमेरिकी वैदेशिक सैन्य सहायता कोष (FMF) मार्फत उपलब्ध गराइनेछ, जहाँ अमेरिकी करदाताको पैसा इजरायलले अमेरिकी हतियार किन्न प्रयोग गर्छ।
यसअघि बाइडन प्रशासनले घनावस्ती भएको गाजा क्षेत्रमा धेरै मानवीय क्षति हुन सक्ने भन्दै यी बमहरूको बिक्री र हस्तान्तरणमा रोक लगाएको थियो। तर, डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि उक्त प्रतिबन्ध हटाइएको छ र ठूलो मात्रामा थप घातक हतियारहरू इजरायल पठाउने प्रक्रिया अगाडि बढाइएको हो।
अमेरिकी कंग्रेसका कमिटीहरूलाई यसबारे जानकारी गराइसकिएको छ। गाजामा भएको युद्ध र मानवीय संकटका कारण अन्तर्राष्ट्रिय स्तरमा आलोचना भइरहेका बेला अमेरिकाले इजरायललाई यति ठूलो परिमाणमा शक्तिशाली बमहरू पठाउन लागेकोमा विश्वभर यसको चासो र चर्चा सुरु भएको छ।



