नेपाल शिक्षक महासंघले सरकारसँग यसअघि भएका सहमति कार्यान्वयन नभएको र मागप्रति सरकार अनुदार देखिएको भन्दै आगामी भदौ महिनादेखि चरणबद्ध आन्दोलनमा जाने घोषणा गरेको छ। काठमाडौँमा सम्पन्न महासंघको तेस्रो राष्ट्रिय परिषद्को बैठकले आन्दोलनमा उत्रिने निर्णय पारित गरेको हो।
आन्दोलनको ठोस मिति र तालिका भने महासंघको विस्तारित कार्यालय बैठकले चाँडै तय गर्ने जनाइएको छ। महासंघले सरकार र शिक्षकहरूबीच विगतमा भएका सम्झौताहरू समेटेर अग्रगामी विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मुख्य माग अघि सारेको छ।
यसैगरी, शिक्षा नियमावलीको १० औँ संशोधनमा रहेका कतिपय अव्यवहारिक प्रावधान सच्याउनुपर्ने, शिक्षक सरुवा प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउनुपर्ने तथा साउन महिनादेखि नै प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने माग पनि राखिएको छ।
यस्तै, प्रारम्भिक बालविकास (ईसीडी) शिक्षक, विद्यालय कर्मचारी, राहत, अस्थायी तथा संस्थागत विद्यालयका शिक्षक न्यूनतम तलब भत्ता र सेवा–सुविधा सुनिश्चित गर्दै स्थायी व्यवस्थापनका लागि पहल गर्न सरकार ध्यानाकर्षण गराइएको छ।



