मध्यपूर्व तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर पुग्यो

मध्यपूर्वमा बढ्दै गएको सैन्य तनाव र द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः प्रतिब्यारेल १०० डलर पुगेको छ। अमेरिकी सेनाले इरानी तेल ट्याङ्करहरूमा आक्रमण गरेको र इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबका तेल पूर्वाधारहरूमा हमला गरेपछि विश्वव्यापी रूपमा तेल आपूर्तिमा ठूलो बाधा पुग्ने चिन्ता बढेको छ।

विश्वव्यापी मानक मानिने ब्रेन्ट क्रुडको मूल्य २.३ प्रतिशतले बढेर प्रतिब्यारेल १०० डलर पुगेको छ भने अमेरिकी क्रुडको मूल्य १.३ प्रतिशतले बढेर ९४ डलर पुगेको छ। यस वर्ष मात्रै ब्रेन्ट र अमेरिकी क्रुड तेलको मूल्य ६० प्रतिशतभन्दा बढीले वृद्धि भइसकेको छ, जसले गर्दा विश्वभर ऊर्जाको लागत ह्वात्तै बढेको छ।

सामरिक हिसाबले अत्यन्तै महत्त्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य क्षेत्रमा तनाव बढेपछि तेल ट्याङ्करहरूको आवतजावत जोखिमपूर्ण बनेको छ। हुथी विद्रोहीहरूको साउदी अरबमा भएको आक्रमण र जारी झडपले गर्दा प्रशोधन केन्द्रहरू र आपूर्ति प्रणाली थप प्रभावित भएका छन्।

कच्चा तेलको मूल्यवृद्धिसँगै पेट्रोल, डिजेल र जेट इन्धनको भाउ पनि महँगो भएको छ। अमेरिकामा डिजेलको औसत मूल्य प्रतिग्यालेन ५.९० डलर पुगेर नयाँ रेकर्ड कायम गरेको छ। इन्धनको मूल्य वृद्धिले सर्वसाधारणको दैनिकी प्रभावित हुनुका साथै विश्वभर महँगी बढाउने खतरा सिर्जना गरेको छ।

ऊर्जाको मूल्य बढेपछि विश्वभरका केन्द्रीय बैंकहरूले ब्याजदर बढाउन सक्ने वा उच्च नै राख्ने अनुमानका कारण सेयर बजार र ऋणपत्र बजारमा पनि गिरावट आएको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ