जापान सरकारद्वारा भोटेकोशी बाढी प्रभावितका लागि आपत्कालीन राहत सामग्री सहयोग

जापान सरकारद्वारा नेपाललाई भोटेकोशी बाढी प्रभावितका लागि आपत्कालीन राहत सामग्री सहयोग उपलब्ध गराइएको छ। नेपालका लागि जापानी राजदूत माएदा तोरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानवीय सहायता सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गर्नुभएको हो। हस्तान्तरण गरिएका सामग्रीहरूमा कम्बल, प्लास्टिकका त्रिपाल, सुत्ने प्याड र पाल लगायतका वस्तुहरू रहेका छन्।

यसअघि प्रधानमन्त्री बालेन्द्र शाह र जापानका प्रधानमन्त्री सानाए ताकाइचीबिच टेलिफोन वार्ता भएको थियो। सो क्रममा जापानी प्रधानमन्त्री ताकाइचीले विनाशकारी बाढीका कारण नेपालमा भएको जनधनको क्षतिप्रति हार्दिक समवेदना व्यक्त गर्दै कठिन घडीमा सहयोग विस्तार गर्ने प्रतिबद्धता जनाउनुभएको थियो।

जवाफमा प्रधानमन्त्री शाहले जापान सरकार तथा जनताबाट प्राप्त ऐक्यबद्धता र सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो। उहाँले प्रभावित क्षेत्रमा उद्धार, खोजी र राहतका लागि सरकारले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराउनुका साथै बेपत्ता जापानी नागरिकको खोजीलाई उच्च प्राथमिकता दिइने स्पष्ट पार्नुभयो। साथै नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० वर्ष पुगेको अवसरमा द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।

जापान सरकारले उपलब्ध गराएको यस आपत्कालीन राहत सामग्रीले विपद् प्रभावित नागरिकको कठिनाइ कम गर्न मद्दत पुग्ने अपेक्षा राखेको छ। प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनर्निर्माणको कार्य निरन्तर अघि बढाउँदै पीडितहरू छिट्टै सामान्य जीवनमा फर्कने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ