काठमाडौं । लक्जरी इभेन्ट एण्ड इन्टरटेनमेन्ट (LEE) को आयोजनामा विगत केही समयदेखि सञ्चालन हुँदै आएको चर्चित रियालिटी शो ‘एक्टिङ आइडल – सिजन १’ (ACTING IDOL – SEASON 1) को ग्राण्ड फिनाले भव्य रूपमा सम्पन्न भएको छ । उक्त समापन समारोह यही २०८३ साल जेठ २ गते शनिबारका दिन चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा आयोजना गरिएको थियो ।
दिउँसो १ः०० बजेबाट सुरु भएको उक्त विशेष समारोहमा नेपाली मनोरञ्जन क्षेत्रका दिग्गज तथा प्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा वरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल मुख्य अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने विशिष्ट अतिथिको रूपमा दिनेशडिसी रहनुभएको थियो ।
यस सिजनको निर्णायक मण्डल रंगमञ्च तथा चलचित्र क्षेत्रका स्थापित व्यक्तित्वहरू अशेष मल्ल,रुसिल अमात्य, भिमा मैनाली र प्रकाश कुमार अधिकारी रहनुभएको थियो, जसले प्रतियोगीहरूको अभिनय क्षमताको मूल्याङ्कन गर्नुभएको थियो ।
महिना देखिको कडा प्रतिष्पर्धा, उत्कृष्ट अभिनय कला र दर्शकहरूको मायालाई बटुल्दै ‘एक्टिङ आइडल – सिजन १’ को उपाधि र विजेताहरूको घोषणा गरिएको छ:
- विजेता : ठाकुर गौचन
- प्रथम उपविजेता: आयुष खड्का
- द्वितीय उपविजेता: भक्त श्रेष्ठ
- भोटिङ स्टार अवार्ड: गौरव शमशेर बस्कोटा
प्रतिभावान प्रतिस्पर्धीहरूको उत्कृष्ट अभिनय प्रस्तुति, विविध मनोरञ्जनात्मक कार्यक्रम र थुप्रै दर्शक तथा शुभचिन्तकहरूको उत्साहजनक सहभागिताले ग्राण्ड फिनालेको माहोल निकै आकर्षक र भव्य बनेको थियो । लक्जरी इभेन्ट एण्ड इन्टरटेनमेन्टकी सीईओ/एमडी पुजा रेग्मीका अनुसार नयाँ अभिनय प्रतिभाहरूलाई उचित प्लेटफर्म प्रदान गर्ने उद्देश्यले आयोजित यस शोको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ ।


