जिल्ला प्रशासन कार्यालय धनुषाको परिसरमा गृहमन्त्री सुदन गुरुङ र आन्दोलनरत संयुक्त हिन्दु मोर्चाबिच १३ बुँदे सम्झौता भएको छ। सम्झौतासँगै मोर्चाले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ।
दिगो शान्ति र धार्मिक सहअस्तित्व कायम गर्न किराँत, बौद्धसहित ८१ प्रतिशत हिन्दुहरूको बाहुल्यता रहेको नेपाललाई हिन्दु राष्ट्र कायम गर्ने विषयमा ३ महिनाभित्र सर्वदलीय बैठकमार्फत प्रक्रिया अघि बढाउने सहमति भएको छ।
कुनै पनि चाडपर्व वा धार्मिक अवसरमा हातहतियार प्रदर्शन गर्न नपाइने र प्रदर्शन गरेमा कानुनी कारबाही गरिनेछ। साथै, मठ, मन्दिर, मस्जिद, गुम्बा र चर्चजस्ता धार्मिक स्थलहरूमा बाहिरी लाउडस्पिकर प्रयोगमा नियन्त्रण गरी आवाज परिसरभित्र मात्र सीमित राख्नुपर्नेछ।
धार्मिक स्थलहरूमा बसोबास गर्ने विदेशी नागरिकहरूको अभिलेख राखी निगरानी गरिनेछ। यसका साथै, २०६२/२०६३ देखि हालसम्म प्रदान गरिएको नेपाली नागरिकताको छानबिन गरी गैर-नागरिकमाथि कानुनी कारबाही चलाउने र धार्मिक संस्थाहरूको फन्ड (आर्थिक स्रोत) को अनुगमन तथा नियमन गरिने सम्झौता भएको छ।
सुनसरी देवानगञ्ज घटनाका क्रममा पक्राउ परेकाहरूको मुद्दा पुनरावलोकन गरी कानुनी प्रक्रियाअनुसार रिहा गर्ने र घाइतेहरूको उपचारको व्यवस्था सरकारले गर्नेछ। साथै, १२ वर्षीय आनन्द दासको घटनाका दोषीलाई कारबाही गरी पीडित पक्षलाई क्षतिपूर्ति दिने र सामाजिक सञ्जालमार्फत धार्मिक/साम्प्रदायिक द्वेष फैलाउनेहरूमाथि कारबाही गर्ने सहमति भएको छ।



