सुनसरीमा तनाव नियन्त्रण गर्न सर्वपक्षीय बैठक, छानबिनमा सहयोग गर्ने प्रतिबद्धता

सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले क्षेत्रमा साम्प्रदायिक सद्भाव तथा शान्ति सुरक्षा कायम राख्ने सहमति गरेको छ। बैठकमा उपस्थित राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा स्थानीय अगुवाहरूले साम्प्रदायिक भड्काव रोक्न आ-आफ्नो क्षेत्रबाट सक्रिय भूमिका खेल्ने साझा प्रतिबद्धता जनाएका छन्।

बैठकले घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयद्वारा गठित पाँच सदस्यीय छानबिन समितिलाई आवश्यक सहयोग उपलब्ध गराउने र वास्तविकता उजागर गर्न सहकार्य गर्ने निर्णय गरेको छ। साथै, जनप्रतिनिधि र राजनीतिक दलहरूले सर्वसाधारणलाई कुनै पनि अफवाहको पछि नलाग्न र सुरक्षा निकायलाई सहयोग गर्न अपिल गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) केशवकुमार थेबेका अनुसार देवानगञ्ज र कप्तानगञ्ज क्षेत्रको अवस्था अहिले नियन्त्रणमा र सामान्य रहेको छ। यद्यपि, लौकी र भोक्राहा क्षेत्रमा केही स्थानमा राजमार्ग अवरुद्ध गर्ने प्रयास भइरहेकाले प्रहरी परिचालन गरी अवस्था सहज बनाउने प्रयास जारी छ।

आइतबार देवानगञ्जमा दुई समूहबीच भएको विवाद र झडपपछि परिस्थिति तनावग्रस्त बनेको थियो। सो क्रममा देवानगञ्ज-४ का ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने केही सुरक्षाकर्मी तथा सर्वसाधारण घाइते भएका थिए।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ