सिंहदरबारमा प्रधानमन्त्री बालेन र भारतीय राजदूतबीच ४५ मिनेट छलफल

प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीचको भेटवार्ता सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा सम्पन्न भएको छ। दुवै तर्फका प्रतिनिधिहरूको उपस्थितिमा भएको उक्त भेट करिब ४५ मिनेट चलेको थियो।

भेटका क्रममा नेपाल र भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा विभिन्न क्षेत्रमा गर्न सकिने सहकार्यका विविध विषयमा गहन छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटवार्तामा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई कार्यकालको शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। जवाफमा प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर अघि बढ्नुपर्नेमा जोड दिए।

भारतीय राजदूतसँगको भेटपछि प्रधानमन्त्री शाहले दिउँसो ३ बजे चिनियाँ राजदूतसँग भेटवार्ता गर्ने तय भएको छ। यसअघि प्रधानमन्त्री शाहले नेपालस्थित सबै देशका राजदूतहरूसँग सामूहिक भेटघाट गरिसकेका छन्।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ