रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे क्षेत्रमा तिब्बत क्षेत्रबाट आएको बाढीले विनाश मच्चाएको झन्डै ६० घण्टापछि ६ वर्षीया बालिकाको जीवितै उद्धार गरिएको छ। शुक्रबार साँझ सशस्त्र प्रहरी बलको टोलीले बाढीले थुपारेको चट्टान, काठ र माटोमुनि पुरिएको अवस्थाबाट ती बालिकालाई सकुशल बाहिर निकालेको हो।
सशस्त्र प्रहरीका अनुसार उद्धार टोलीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राख्दा माटोमुनिबाट बालिका रोइरहेको आवाज सुनेको थियो। आवाज पछाडि पछ्याउँदै खोजी तीव्र बनाउँदा सशस्त्र प्रहरी बल नेपालको बीओपी टिमुरेबाट करिब २०० मिटर नजिकै पुरिएको अवस्थामा ती बालिका फेला परेकी हुन्।
उद्धार गर्दा बालिकाको अवस्था गम्भीर र अचेत रहेको थियो। सुरक्षाकर्मीको टोलीले उनलाई तत्कालै सुरक्षित स्थानमा लगेर प्राथमिक उपचार गराउनुका साथै न्यानो बनाएर राखेका छन्।
शारीरिक अवस्था निकै कमजोर रहेकाले उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरी सुविधासम्पन्न अस्पताल पठाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।



