साउदी अरेबियाका महत्त्वपूर्ण पूर्वाधारहरूमा भएका शृङ्खलाबद्ध ड्रोन तथा क्षेप्यास्त्र आक्रमण र स्ट्रेट अफ हर्मुजमा व्यापारिक जहाजहरूमाथि भएका नयाँ हमलाहरूका कारण विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १०८ डलर नाघेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ।
इराकबाट चालिएका ड्रोन आक्रमणपछि साउदी अरेबियाले आफ्नो पूर्व-पश्चिम मुख्य खनिज तेल पाइपलाइन बन्द गर्न बाध्य भएको छ। स्ट्रेट अफ हर्मुजलाई छलेर तेल निर्यात गर्न प्रयोग गरिने यो मुख्य वैकल्पिक मार्ग बन्द हुँदा विश्वव्यापी रूपमा इन्धन आपूर्तिमा गम्भीर असर पर्ने र आपूर्ति रोकिने खतरा बढेको छ।
उता यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका दक्षिणी भूभागहरूमा आक्रमण जारी राख्दै रणनीतिक पेरिम द्विपमा आफ्नो पकड बलियो बनाएका छन्। साथै, स्ट्रेट अफ हर्मुज क्षेत्रमा जहाज सञ्चालन र सुरक्षाबारे छलफल गर्न ओमानमा तय भएको क्षेत्रीय बैठक अन्तिम समयमा स्थगित भएपछि तनाव झनै बढेको छ, जसले गर्दा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य थप उकासिएको छ।



