काठमाडौँ । लगातारको अविरल वर्षाका कारण बागमती नदीमा आएको बाढीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर जलमग्न भएको छ। नदीको बहाव बढेर राति नै सेन्टरभित्र बाढी पसेपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू पुनः अर्को विपत्तिको सामना गर्दै विस्थापित हुन बाध्य भएका छन्।
बागमती किनारका सुकुम्बासी बस्ती हटाएर बाढी र अन्य जोखिमबाट सुरक्षित राख्ने उद्देश्यले सरकारले उनीहरूलाई यस होल्डिङ सेन्टरमा राख्दै आएको थियो। तर, वर्षाको पानी एकदेखि डेढ घण्टाभित्रै सेन्टरभरि फैलिएपछि सुरक्षित भनिएको ठाउँ नै डुबानमा परेको छ।
बाढीको सूचना पाउनासाथ घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली डुङ्गासहित पुगेर उद्धार कार्य सुरु गरेका थिए। हालसम्म त्यहाँबाट ५४ जनाभन्दा बढी नागरिकको सुरक्षित उद्धार गरिएको छ। उद्धार गरिएका केही व्यक्तिहरू नजिकैको होस्टल वा आफन्तकहाँ शरण लिन पुगेका छन् भने कतिपयलाई त्रिभुवन विश्वविद्यालय (टियु) को स्मृति भवनमा सारिएको छ। केही नागरिकहरू भने सेन्टरभित्रै पानी नपसेको सुरक्षित र अग्लो स्थानमा बसिरहेका छन्।
गृह मन्त्रालय र विपद् व्यवस्थापन प्राधिकरणका अनुसार हाल प्रभावित क्षेत्र र आश्रयस्थलमा विषयगत क्लस्टरहरू सक्रिय भइसकेका छन्। टियुको स्मृति भवनमा सारिएका र सेन्टरमै रहेका नागरिकहरूका लागि तत्काल आवश्यक पर्ने तयारी खाना, स्वच्छ खानेपानी, खाद्यान्न तथा अन्य स्वास्थ्य सामग्रीको व्यवस्थापन मिलाउने काम भइरहेको छ।



