परराष्ट्रमन्त्री शिशिर खनाल र चीनका विदेशमन्त्री वाङ यीबीच शनिबार टेलिफोन वार्ता भएको छ। वार्तामा दुवै नेताहरूले रसुवा-जिलोङ बन्दरगाह क्षेत्रमा आएको विनाशकारी बाढीबाट दुवै देशमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
वार्ताका क्रममा बाढी प्रभावित क्षेत्रहरूमा जारी खोज, उद्धार तथा राहत कार्यका विषयमा गहन छलफल भएको थियो। साथै, चीनमा बाढीका कारण अलपत्र परेका नेपाली नागरिकहरूको उद्धार तथा स्वदेश फिर्तीका सम्बन्धमा पनि कुराकानी भएको छ।
दुवै पक्षले भविष्यमा यस्ता प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्न प्रभावकारी पूर्वसूचना प्रणालीको विकास गर्ने र विद्यमान द्विपक्षीय संयन्त्रहरूलाई अझ सुदृढ बनाएर सूचना आदानप्रदानमा निरन्तर सहकार्य गर्ने सहमति जनाएका छन्।
परराष्ट्रमन्त्री खनालले यस कठिन परिस्थितिमा चीन सरकारले उपलब्ध गराएको आकस्मिक मानवीय राहत तथा सहयोगप्रति विदेशमन्त्री वाङमार्फत चीन सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो।



