थाइल्यान्डको बैंकक नजिकै रहेको नोन्थाबुरी क्षेत्रमा एक १४ वर्षीय किशोरले घर र विद्यालयमा अन्धाधुन्ध गोली चलाउँदा हजुरबुबा-हजुरआमासहित कम्तीमा ७ जनाको मृत्यु भएको छ। शुक्रबार बिहान भएको यस दर्दनाक घटनामा १५ भन्दा बढी मानिस घाइते भएका छन्। आक्रमणपछि ती किशोरले आफूलाई पनि गोली हानेका थिए।
प्रहरीका अनुसार, ती किशोरले सुरुमा आफ्नै घरमा हजुरबुबा र हजुरआमालाई गोली हानी हत्या गरेका थिए। त्यसपछि उनी आफू अध्ययनरत ‘देवसिरिन नोन्थाबुरी’ विद्यालय पुगे र बन्दुक निकालेर अन्धाधुन्ध गोली चलाउन थाले। विद्यालयमा गोली लागेर शिक्षक तथा अन्य कर्मचारीहरूको ज्यान गएको छ।
प्रारम्भिक अनुसन्धानबाट ती किशोरले हजुरबुबाको नाममा दर्ता रहेको कानुनी बन्दुक चोरेर घटना घटाएको खुलेको छ। प्रहरीका अनुसार किशोर विद्यालयको पढाइ र तनावका कारण मानसिक दबाबमा थिए।
यस घटनापछि थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चानविराकुलले गहिरो शोक व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचार र पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन्। घटनाबारे प्रहरीले थप विस्तृत अनुसन्धान गरिरहेको छ।



