काठमाडौँ। पोर्चुगलका चर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र उहाँकी लामो समयदेखिकी जोडी जर्जिना रोड्रिगेज औपचारिक रूपमा वैवाहिक बन्धनमा बाँधिनुभएको छ। करिब एक दशक लामो प्रेम सम्बन्धपछि यो जोडीले पोर्चुगलको कास्काइस शहरमा एक निजी नागरिक समारोह बीच विवाह गरेको हो।
रोनाल्डो र जर्जिनाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत विवाहका औँठी लगाएको हातको तस्बिर सार्वजनिक गर्दै विवाहको पुष्टि गर्नुभएको हो। उक्त पोस्टमा उहाँहरूले केवल “C❤️G” क्याप्सन लेख्नुभएको थियो। अत्यन्तै गोप्य र पारिवारिक वातावरणमा सम्पन्न भएको उक्त विवाह समारोहमा उहाँहरूका पाँचै जना बालबालिकाको उपस्थिति रहेको थियो।
विशेष कुरा त के छ भने, यो जोडीले ठिक एक वर्षअघि (११ अगस्ट २०२५) मा इन्गेजमेन्ट गरेको घोषणा गरेको थियो। सन् २०१६ मा म्याड्रिडको एक गुच्ची स्टोरमा पहिलोपटक भेट भएपछि उहाँहरूको प्रेम सम्बन्ध सुरु भएको थियो। सन् २०२३ देखि साउदी क्लब अल नासरबाट व्यावसायिक फुटबल खेलिरहनुभएका रोनाल्डो र जर्जिना विश्वकै सबैभन्दा धेरै पछ्याइने प्रभावशाली जोडीहरूमध्ये एक हुनुहुन्छ।



