काठमाडौँ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने पवित्र पर्व कुशे औँसी (बाबुको मुख हेर्ने दिन) आज देशभर वैदिक सनातन धर्मावलम्बीहरूले श्रद्धा, भक्ति र उत्साहपूर्वक मनाउँदै छन्। वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश आजका दिन घर–घरमा भित्र्याइन्छ। शास्त्रोक्त विधिअनुसार वैदिक ब्राह्मणहरूद्वारा पूजा गरी उखेलेर जजमानका घरमा पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने र नकारात्मक ऊर्जा दूर हुने धार्मिक विश्वास रहिआएको छ।
शास्त्र अनुसार आजका दिन उखेलिएको कुश वर्षैभरि प्रयोग गर्न सकिने र अन्य दिनमा उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने मान्यता रहेको छ। यस अवसरमा छोराछोरीहरूले परम्परा अनुसार आफ्ना जीवित बाबुलाई मन पर्ने मीठा-मीठा पकवान, फलफूल र वस्त्र उपहार दिएर आदर-सम्मान प्रकट गर्दछन्। ‘पितृदेवो भव:’ भन्ने वैदिक मूलमन्त्रलाई आत्मसात् गर्दै बाबुको आशीर्वाद लिन आज छोराछोरीहरू आफ्ना जन्मदाताको दर्शन गर्न र ‘बाबुको मुख हेर्न’ पुग्ने गर्दछन्।
त्यस्तै, दिवङ्गत भइसकेका बाबुको स्मरणमा भने छोराछोरीहरूले विभिन्न पवित्र नदी, ताल तथा धार्मिक तीर्थस्थलमा पुगेर तर्पण, पिण्डदान र सिदादान गर्ने गर्दछन्। काठमाडौँको उत्तरपूर्वी भेगस्थित उत्तरगया भनेर चिनिने प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज बिहानैदेखि श्रद्धालु भक्तजनको ठूलो घुइँचो लागेको छ। बाबु नहुनेहरूले गोकर्णेश्वर पुगेर आफ्ना दिवङ्गत बाबुको नाममा श्राद्ध गरी तर्पण दिएमा पितृहरू तृप्त हुने र मोक्ष प्राप्त गर्ने जनविश्वास छ।
गोकर्णेश्वरका अलावा पशुपतिनाथ, देवघाट, वराहक्षेत्र, ऋषिशेषलगायत देशका विभिन्न धार्मिक स्थलहरूमा पनि श्राद्ध र तर्पण गर्नेहरूको बिहानैदेखि बाक्लो उपस्थिति रहेको छ। गोकर्णेश्वर मन्दिर क्षेत्रमा भक्तजनको सहजता र सुरक्षाका लागि स्थानीय प्रशासन, प्रहरी तथा स्वयंसेवकहरू खटाइएको छ। धार्मिक विधि सम्पन्न गर्नका लागि मन्दिर वरपर विशेष पूजा सामग्री तथा व्यवस्थापनको प्रबन्ध मिलाइएको छ।

कुशे औँसी केवल धार्मिक परम्परा मात्र नभई सामाजिक र पारिवारिक सम्बन्धलाई प्रगाढ बनाउने एक महत्त्वपूर्ण अवसर पनि हो। आधुनिक युगमा काम र व्यस्तताका कारण टाढा रहेका सन्तानहरू पनि आजको दिन बाबुलाई भेट्न र सम्मान व्यक्त गर्न घर पुग्ने गर्दछन्। दिवङ्गत भइसकेका पितृहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदानको स्मरण गर्ने यो पर्वले नेपाली समाजमा मातृ-पितृ भक्तिको मौलिक संस्कृतिलाई जीवन्त राख्न मद्दत पुर्याएको छ।



