सुर्खेत — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा सर्वसम्मत मतदान गर्ने निर्णय गरेको छ। बिहीबार बिहीबार बिहान बसेको संसदीय दलको बैठकले नेपाली कांग्रेससँगको राजनीतिक सहकार्यलाई निरन्तरता दिँदै अविश्वास प्रस्ताव पारित गराउने औपचारिक निर्णय गरेको हो।
संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीका अनुसार, यसअघि नै प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भइसकेकाले त्यसलाई निष्कर्षमा पुर्याउन दल एकाबद्ध भएर अगाडि बढ्ने सहमति भएको छ। नयाँ समीकरण अनुसार नेपाली कांग्रेस र नेकपाका सांसदहरूको संयुक्त पहलमा यो प्रस्ताव अघि बढाइएको हो।
यसअघि नेपाली कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्रीहरूले पदबाट राजीनामा दिएपछि कांग्रेसका ५ र नेकपाका ११ जना गरी १६ प्रदेश सभा सदस्यहरूको हस्ताक्षरसहित मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो। उक्त प्रस्तावमा संविधानको धारा १८८ को उपधारा (५) बमोजिम नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीलाई नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरिएको छ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा सरकार गठनका लागि २१ सांसदको बहुमत आवश्यक पर्छ। हाल प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपाका १४, नेकपा एमालेका १० तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्रका एक/एक जना सांसद रहेका छन्। कांग्रेस र नेकपाबीचको सहमति कायम रहे नयाँ सरकार गठनका लागि स्पष्ट बहुमत पुग्ने देखिएको छ।



