नेपालमा आगामी असोज ८ गते बिहीबारदेखि १२ गते सोमबारसम्म पाँच दिन वर्षाको गतिविधि बढ्ने सम्भावना रहेको छ। विभिन्न अन्तर्राष्ट्रिय मौसमी पूर्वानुमान मोडलहरू (जस्तै युरोपको ECMWF, अमेरिकाको GFS, र जर्मनीको ICON) ले आगामी साता नेपालका धेरैजसो भूभागमा वर्षा हुने देखाएका छन्। विशेष गरी शुक्रबार र शनिबार दुई दिन देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने मौसमविद्हरूको आकलन छ। त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार न्यूनचापीय प्रणाली विकसित भई नेपालतर्फ आउने देखिएकाले केही स्थानमा ठुलो पानी पर्न सक्छ। यद्यपि, जलवाष्पयुक्त हावा देशभर समान रूपमा नभई निश्चित क्षेत्रहरूमा बढी केन्द्रित हुने अनुमान छ।
यसपटकको वर्षा मुख्यतया दुई मौसमी प्रणालीको समिश्रणका कारण हुन लागेको हो। उत्तर अन्डमान सागर र बंगालको खाडी आसपास विकसित भइरहेको न्यूनचापीय प्रणाली पश्चिम-उत्तरपश्चिमतर्फ अघि बढ्दैछ। यो प्रणालीबाट आउने जलवाष्पयुक्त हावा र नेपालमा पहिलेदेखि नै मौजूद रहेको पश्चिमी वायुमण्डलीय प्रणाली जुध्दा वर्षाको प्रभाव बढ्नेछ। साथै, पश्चिमोत्तर भारतबाट मनसुन बाहिरिँदै जाँदा विकसित सुक्खा वायुको असरले बंगालको खाडीबाट आएको हावालाई नेपालतर्फ मोड्न मद्दत पुर्याएको मौसमविद्हरूको विश्लेषण छ। यदि बंगालको खाडीको यो प्रणाली चक्रवातमा परिणत भएमा यसलाई बंगलादेशले प्रस्ताव गरेको ‘अर्नब’ नाम दिइनेछ।
वर्षाको पूर्वसूचना प्राप्त भए पनि नेपाल मौसम विज्ञान विभागका अनुसार प्रणाली पूर्ण विकसित भइनसकेकाले कुन क्षेत्रमा कति पानी पर्छ भन्ने यकिन तथ्यांक आउन बाँकी छ। GFS मोडलले देशभरि नै वर्षा देखाएको छ भने ECMWF ले बागमती, मधेश, लुम्बिनी र सुदूरपश्चिममा तथा ICON ले धनकुटा क्षेत्रमा बढी वर्षा देखाएका छन्। असोजको यो समयमा मनसुन बाहिरिने चरण भए पनि जमिन पहिले नै भिजेको छ। त्यसैले छोटो समयमै तीव्र वर्षा भएमा पहाडी भूभागमा पहिरो जाने र खोलानालामा बाढी आउने जोखिम छ। काठमाडौं लगायतका सहरी क्षेत्रमा भने तल्लो भूभाग र सडकमा अल्पकालीन डुबान हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विपत् व्यवस्थापन विज्ञहरूले आग्रह गरेका छन्।



