काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकामाथि ९ विकेटको सानदार जित दर्ता गरेको छ। टस हारेर पहिले फिल्डिङको निम्तो पाएको नेपालले उत्कृष्ट बलिङ र ब्याटिङ प्रदर्शन गर्दै खेललाई पूर्ण रूपमा आफ्नो पक्षमा पार्यो। अमेरिकाले दिएको १९७ रनको लक्ष्यलाई नेपालले मात्र १ विकेट गुमाएर ८० बल बाँकी छँदै सहजै पूरा गर्यो।
नेपालको यो सानदार जितको मुख्य नायक प्रारम्भिक ब्याटर कुशल भुर्तेल बने। उनले उत्कृष्ट ब्याटिङको नमुना प्रस्तुत गर्दै मात्र १०४ बलमा आफ्नो शतक (१०० रन) पूरा गरे। भुर्तेलको यो इनिङ्सले नेपाली टोलीलाई सुरुदेखि नै बलियो स्थितिमा राखेको थियो भने अमेरिकी बलरहरूलाई दबाबमा राख्न मुख्य भूमिका खेल्यो। भुर्तेललाई अर्का ओपनर आसिफ शेखले क्रिजमा दह्रो साथ दिए। आसिफ शेखले पनि अर्धशतकीय इनिङ्स खेल्दै नेपालको जितको आधार खडा गरे। यी दुई ओपनरबीचको बलियो साझेदारीका कारण नेपालले विनाकुनै अतिरिक्त दबाब लक्ष्य पछ्याउन सफल भयो र त्रिवि मैदानमा उपस्थित घरेलु दर्शकहरूलाई खुसीको उत्सव मनाउने अवसर दियो।




