काठमाडौँ । आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै संयुक्त राज्य अमेरिकाले फुटबल समर्थकहरूका लागि आफ्नो भिसा नीतिमा केही महत्वपूर्ण फेरबदल गरेको छ। ट्रम्प प्रशासनले कडा आप्रवासन नीतिका बीच पनि विश्वकपलाई सफल बनाउन विदेशी समर्थकहरूका लागि ‘भिसा बन्ड’ को अनिवार्य व्यवस्थामा आंशिक सहजता दिने घोषणा गरेको हो।
अमेरिकी विदेश मन्त्रालयका अनुसार विश्वकपका लागि टिकट खरिद गरिसकेका र सहभागी टोलीका सदस्यहरूले अब ५ हजार देखि १५ हजार डलरसम्मको ‘भिसा बन्ड’ बुझाउनु पर्ने छैन। यो सुविधा प्राप्त गर्न समर्थकहरूले विश्वकपको प्राथमिकता भिसा प्रणालीमा आफ्नो नाम दर्ता गरेको हुनुपर्नेछ।
यी देशका समर्थकलाई भने अझै कठिनाइ भिसा प्रक्रिया सहज बनाइए पनि केही देशका नागरिकहरूका लागि भने अझै पनि चुनौती कायमै छ जस अनुसार अल्जेरिया, केप भर्डे, आइभोरी कोस्ट, सेनेगल र ट्युनिसियाका समर्थकहरू अझै पनि भिसा बन्डको नीतिबाट प्रभावित हुनेछन्। साथै, इरान र हाइटीका नागरिकमाथि लगाइएको कडा प्रवेश प्रतिबन्धका कारण ती देशका समर्थकहरू अमेरिका पुग्न कठिन हुने देखिएको छ।
सुरक्षा र सहजताको सन्तुलन अमेरिकी कन्सुलर मामिलाकी सहायक विदेशमन्त्री मोरा नामदारले अमेरिकाले विश्वकप अवधिमा वैध यात्रालाई सहज बनाउँदै राष्ट्रिय सुरक्षालाई पनि मजबुत राख्ने प्रतिबद्धता जनाएकी छिन्। फिफाले पनि अमेरिकी सरकारको यस कदमलाई स्वागत गर्दै यसले विश्वकपलाई ऐतिहासिक र स्मरणीय बनाउन सहयोग पुग्ने बताएको छ। संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने यो विश्वकप सन् २०२६ जुन ११ बाट सुरु हुँदैछ।



