काठमाडौँ । विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई भ्रष्टाचार मुद्दामा रु. १ लाख धरौटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको संयुक्त इजलासले थुनछेक बहसपछि महरासँग उक्त धरौटी रकम माग गर्ने निर्णय गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय सिगरेट (भेप) भित्र लुकाएर गरिएको सुन तस्करी प्रकरणमा महरा र भन्सार अधिकृतहरू विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा ७ करोड ७८ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको दाबीसहित अख्तियारले अदालतमा अभियोग पत्र दर्ता गराएको थियो।
अदालतको यो आदेशसँगै महराले तोकिएको धरौटी रकम बुझाएर मुद्दाको किनारा नलाग्दासम्मका लागि साधारण तारेखमा रही कानुनी प्रक्रियाको सामना गर्न पाउने भएका छन्। यसअघि सोही प्रकरणमा मुछिएका अन्य कर्मचारी तथा पदाधिकारीहरूसँग पनि अदालतले बयान र थुनछेक बहस लिइसकेको छ।


