काठमाडौँ, २३ जेठ -प्रधानमन्त्रीले संसद्मा सीमा सम्बन्धी दिएको पछिल्लो अभिव्यक्तिलाई लिएर सडक र सदन दुवैतिर विरोध प्रदर्शन सुरु भएको छ। नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको आशययुक्त भनाइ राष्ट्रिय हित विपरीत र तथ्यहीन रहेको भन्दै श्रम संस्कृति पार्टीले शनिबार काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।काठमाडौँको माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिको विरोध गर्दै तत्काल सो भनाइ फिर्ता लिन माग गरे। प्रदर्शनमा सहभागीहरूले हात–हातमा प्लेकार्ड बोकेर राष्ट्रिय स्वाभिमानको रक्षा गर्न सरकारसँग माग गरेका थिए। उनीहरूले प्रदर्शनका क्रममा निम्न नाराहरू अघि सारेका थिए -“नेपाली माटोको रक्षा गरौँ, राष्ट्रको सम्मान जोगाऔँ! “गैरजिम्मेवार अभिव्यक्ति फिर्ता गर!”
विरोध सभालाई सम्बोधन गर्दै श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सीमाका विषयमा देशको कार्यकारी प्रमुखले संसद् जस्तो गरिमामय ठाउँमा हलुका र गैरजिम्मेवार टिप्पणी गर्नु खेदजनक रहेको बताए।”हरेक छिमेकी देशहरूबीच सीमा सम्बन्धी प्राविधिक वा कूटनीतिक समस्याहरू हुन सक्छन्। तर सीमा समस्या हुनु र नेपाल आफैँले भूमि मिचेको भन्नु सर्वथा फरक र आपत्तिजनक कुरा हो,” सांसद राईले भने।
उनले राष्ट्रियताको सवालमा सदनमा आफूहरूले राख्दै आएको अडान र विरोध कायमै रहने र सरकारलाई राष्ट्रिय हित विपरीतका कार्य सच्याउन लगातार दबाब दिइरहने स्पष्ट पारे।


