प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न विदेशी कूटनीतिक नियोगका प्रमुखहरूसँग छुट्टाछुट्टै (एक्लाएक्लै) भेटघाट गर्ने प्रक्रिया अघि बढाउने भएका छन्। यसअघि विदेशी कूटनीतिज्ञहरूसँग व्यक्तिगत वा छुट्टाछुट्टै भेट्न अस्वीकार गर्दै आएका बालेनको यो कदमलाई कूटनीतिक क्षेत्रमा नयाँ सुरुआतको रूपमा हेरिएको छ।
सोमबारदेखि सुरु हुने भेटघाटको क्रममा सबैभन्दा पहिले भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता तय गरिएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय राजदूतसँगको छलफलपछि नेपालका लागि चिनियाँ राजदूत, अमेरिकी राजदूत तथा अन्य देशका प्रतिनिधिहरूसँग पनि क्रमैसँग भेट्ने योजना रहेको छ।
पदभार ग्रहण गरेपछि विभिन्न देशका राजदूतहरूले शुभकामना दिन समय मागे पनि बालेनले व्यक्तिगत रूपमा भेट्न अस्वीकार गरेका थिए। उनले चैत २५ गते भारत, चीन, अमेरिका, बेलायत, राष्ट्रसंघ लगायतका नियोग प्रमुखहरूलाई एकै ठाउँ राखेर सामूहिक भेटवार्ता गरेका थिए भने जेठ १२ गते युरोपेली संघका प्रतिनिधिहरूसँग पनि सामूहिक संवाद मात्र गरेका थिए।
यसअघि उच्चस्तरीय कूटनीतिज्ञहरूसँग भेट्न अस्वीकार गर्दा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सुस्त वा धमिलो बनेको टिप्पणी भइरहेको थियो। यही अवस्थालाई सम्हाल्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालले छिमेकी मुलुकहरूको भ्रमणसमेत गरिसकेका छन्।
बालेनलाई भारत र चीन दुवै देशबाट औपचारिक भ्रमणको निम्तो आइसकेको छ। कूटनीतिक वृत्त र सहयोगीहरूको निरन्तर सुझावपछि सुरु हुन लागेको यो संवादले बालेनको सम्भावित विदेश भ्रमणका लागि अनुकूल वातावरण तयार गर्ने अपेक्षा गरिएको छ।



