बंगलादेश संसद्‌द्वारा नेपालको रसुवा बाढीप्रति शोक प्रस्ताव पारित

बंगलादेशको संसद्‌ले नेपालको रसुवा जिल्लामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गर्दै सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ। संसद् बैठकले शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

मृतकहरूप्रति सम्मान व्यक्त गर्दै बंगलादेशी सांसदहरूले संसद् बैठकमा एक मिनेट मौन धारण गरेका थिए। त्यसलगत्तै, दिवंगत आत्माको चीर शान्तिको कामना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको प्रार्थना गरिएको थियो।

बंगलादेश संसद्का सभामुख हाफिज उद्दीन अहमदले एक शोक सन्देश जारी गर्दै नेपालमा बाढी र पहिरोका कारण भएको ठूलो मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले प्रभावित नेपाली परिवारप्रति सहानुभूति प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

गोसाइँकुण्ड गाउँपालिका क्षेत्रमा आएको भीषण बाढी र लेदो (गेग्रान) सहितको भोटेकोशी नदीको बहावले तटीय बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनाहरूमा व्यापक क्षति पुर्‍याएको थियो। यस विपत्तिले कैलाश मानसरोवर यात्रामा रहेका विदेशी पर्यटकहरू समेत प्रभावित भएका छन्।

बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित हजारौँ सुरक्षाकर्मीहरू उद्धार तथा राहत कार्यमा निरन्तर खटिएका छन्। उद्धार गरिएका घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ