ज्येष्ठ नागरिकको योगदानको सम्मानमा वडा १५ को विशेष कार्यक्रम

ललितपुर, फागुन १० –
ललितपुर महानगरपालिका वडा नं. १५ को आयोजनामा सातदोबाटोस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको सभा हलमा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

“ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र प्रशासन” भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा वडामा स्थायी रूपमा बसोबास गर्दै आएका ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरूलाई सम्मान प्रदान गरिएको हो।गत माघ १६ र १७ गते गोर्खाको मनकामना मन्दिर र तनहुँको देवघाटमा धार्मिक तीर्थ भ्रमण गरी फर्किएका ज्येष्ठ नागरिकलाई आज शनिबारका दिन राष्ट्रिय प्रकृति संरक्षण कोष सातदोबाटो, ललितपुरमा सम्मानित गरिएको वडाध्यक्ष सुरेश बहादुर शाहीले बताउनुभयो।

उक्त समारोहका प्रमुख अतिथि ललितपुर महानगरपालिकाकी उप–मेयर मंजली शाक्य बज्राचार्य रहनुभएको थियो। उहाँले ज्येष्ठ नागरिकहरू सबै सम्मानका हकदार भएको उल्लेख गर्दै यस्तो संस्कार समाजमा स्थापित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। साथै, उहाँले ज्येष्ठ नागरिकहरू समाज, संस्कृति र धर्मका मूल आधार भएको भन्दै, उहाँहरूको जीवन अनुभव, ज्ञान र सीपलाई सामाजिक विकासमा प्रयोग गर्न सक्ने वातावरण सुनिश्चित गर्नु आवश्यक रहेको पनि बताउनुभयो।

समारोहमा सम्मानित ज्येष्ठ नागरिकहरूलाई माला, खादा र प्रशंसा–पत्र प्रदान गरिएको थियो। कार्यक्रममा स्थानीयवासी, सामाजिक अभियन्ता तथा वडा समिति सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ