फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउने प्रयासको फिफाद्वारा कडा भर्त्सना

फिफाले आफ्ना अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउने र उनको प्रतिष्ठा धमिल्याउने उद्देश्यले भइरहेको संगठित प्रयासको कडा शब्दमा भर्त्सना गरेको छ। बेलायती पत्रिका द डेलीटेलिग्राफमा इन्फान्टिनोको निजी जीवन र युइएफएमा महासचिव छँदाको समयसँग जोडिएर आएको खबरपछि फिफाले आधिकारिक विज्ञप्ति जारी गर्दै यी दाबीहरूलाई पूर्णतः निराधार र झूटो भनेको छ।

अध्यक्ष इन्फान्टिनोले फिफा फरवार्ड इन्टरप्राइज नामक योजनामार्फत विश्वकपको व्यावसायिक तथा टिकटिङ अधिकारको केही हिस्सा निजी लगानीकर्तालाई बेच्न खोजेको प्रस्ताव विवादमा परेपछि उनी दबाबमा परेका हुन्। उक्त योजना खारेज भए तापनि युरोपेली फुटबल महासंघ तथा नर्वेली फुटबल संघकी अध्यक्ष लिसे क्लाभेनेस जस्ता पदाधिकारीहरूले उनीमाथि विश्वास नरहेको भन्दै राजीनामाको माग गरिरहेका छन्।

फिफाले भने इन्फान्टिनो २११ सदस्य राष्ट्रहरूमार्फत लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित भएको र उनलाई हटाउने प्रयास गलत नियतले प्रेरित रहेको बताएको छ। लोकतान्त्रिक प्रक्रियाबाट हराउन नसक्नेहरूले झुटा आरोप र भ्रम फैलाएर संस्थालाई कमजोर पार्न खोजेको फिफाको भनाइ छ।

युरोपका केही संघहरूले विरोध गरे तापनि अफ्रिकी फुटबल महासंघ, दक्षिण अमेरिकी तथा मेक्सिको जस्ता देशहरूले इन्फान्टिनोलाई आफ्नो समर्थन कायमै राखेका छन्।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ