वैशाख ३१– चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङको ‘ग्रेट हल अफ द पिपल’ मा २ घण्टा १५ मिनेट लामो महत्वपूर्ण भेटवार्ता भएको छ। उक्त भेटमा राष्ट्रपति सीले ताइवानको विषयमा अमेरिकालाई कडा चेतावनी दिएका छन्।
राष्ट्रपति सीले ताइवान मामिला चीन-अमेरिका सम्बन्धको सबैभन्दा संवेदनशील विषय भएको उल्लेख गर्दै यदि यसलाई ‘अनुचित’ ढंगले अगाडि बढाइएमा दुई देशबीच संघर्ष वा सिधै सैन्य टकराव हुन सक्ने चेतावनी दिएका छन् बैठकमा इरानसँगको जारी युद्ध र त्यसले विश्व अर्थतन्त्रमा पारेको प्रभावबारे पनि छलफल भयो। दुवै नेताहरू हर्मुज जलडमरूलाई ऊर्जा प्रवाहका लागि खुला राख्न सहमत भएका छन्राष्ट्रपति सीले चीन र अमेरिकाबीचको सहयोगले दुवैलाई फाइदा हुने र टकरावले दुवैको नोक्सान हुने बताउँदै दुई देश प्रतिद्वन्द्वी नभई साझेदार बन्नुपर्नेमा जोड दिए।
राष्ट्रपति ट्रम्पले चिनियाँ अर्थतन्त्रलाई अझ बढी खुला गर्न आग्रह गरेका छन्। यस क्रममा कृषि, ऊर्जा र प्रविधिका क्षेत्रमा चिनियाँ लगानी बढाउने विषयमा पनि कुराकानी भएको छ। भेटपछि राष्ट्रपति ट्रम्पले सी जिनपिङलाई एक “महान नेता” को संज्ञा दिँदै आफूहरूबीचको सम्बन्ध निकै राम्रो रहेको बताएका छन्। उनले ट्वीटर (X) मार्फत यो भ्रमणलाई ऐतिहासिक र फलदायी बताएका छन्।
भेटमा अमेरिकाका तर्फबाट विदेशमन्त्री मार्को रुबियो र एलोन मस्क जस्ता चर्चित उद्योगीहरूको पनि उपस्थिति रहेको थियो। ट्रम्पले राष्ट्रपति सीलाई आगामी सेप्टेम्बर २४ मा अमेरिका भ्रमणका लागि निम्तो समेत दिएका छन्।



