नेपालमा बुधबार आएको विनाशकारी बाढीअघि महसुस गरिएको भूकम्पीय कम्पनलाई सुरुमा ४.४ म्याग्निच्युडको भूकम्प भनिएको थियो। तर, अमेरिकी भूगर्भ सर्वेक्षणको पछिल्लो अध्ययनले उक्त कम्पन भूकम्प नभई ठुलो ग्लेसियर ढलेर मलबेसहित खस्दा उत्पन्न भएको कम्पन हुन सक्ने निष्कर्ष निकालेको छ।
भूकम्प मापन केन्द्रहरूको तथ्यांक, दीर्घकालीन भूकम्पीय तरंगहरू र स्याटेलाइट तस्बिरहरूको थप अध्ययन पछि उक्त कम्पनको अनुमानित तीव्रतालाई परिमार्जन गरी ४.४ बाट ५.२ म्याग्निच्युड कायम गरेको छ। ठुलो मात्रामा चट्टान, बरफ र माटो तलतिर बग्दा भूकम्पजस्तै झट्का उत्पन्न भएको पाइएको छ।
क्यानडाको क्यालगरी विश्वविद्यालयका भू-आकृति विज्ञानका एसोसिएट प्रोफेसर ड्यानियल सुगरले करिब ५,२०० मिटर उचाइमा रहेको चट्टानी क्षेत्रबाट ग्लेसियरको ठुलो भाग खसेको अनुमान गरेका छन्। विपद् अघि र पछिका स्याटेलाइट तस्बिर तुलना गर्दा उक्त क्षेत्रका ग्लेसियरले २४ घण्टाभित्र ठुलो मात्रामा हिउँ गुमाएको देखिएको छ।
तापक्रम वृद्धि भई हिउँ पग्लिएपछि पानी ग्लेसियरको तल्लो भागसम्म पुगेर सतहलाई चिप्लो बनाएकाले ग्लेसियर ढलेको अनुमान गरिएको छ। ग्लेसियर अचानक ढलेर ठुलो मात्रामा हिउँ, बरफ, चट्टान र माटो एकैपटक बगेर नदीमा पुगेपछि नै आकस्मिक र विनाशकारी बाढी आएको विज्ञहरूको निष्कर्ष छ।




