एसीसी प्रिमियर कप तयारी: दोस्रो अभ्यास खेलमा पनि नेपाल विजयी

नेपालले एसीसी प्रिमियर कपको तयारी स्वरूप खेलिएको दोस्रो अभ्यास खेलमा मलेसियामाथि २७ रनको साँघुरो जित हासिल गरेको छ। रोहित पौडेलको उत्कृष्ट अलराउन्ड प्रदर्शन र बलरहरूको सामूहिक प्रयासको मद्दतले नेपालले कठिन स्थितिबाट निस्कँदै जित दर्ता गराएको हो।

नेपालले टस जितेर पहिलो ब्याटिङ रोजे पनि सुरुवात भने बिग्रिएको थियो। ३८ रन जोड्दा शीर्ष ५ ब्याटर गुमाइसकेको नेपालका लागि रोहित पौडेलले ६१ रनको अर्धशतकीय इनिङ्स खेले। उनलाई गुल्शन झा (४५ रन) र सन्दीप लामिछाने (१३ रन) ले साथ दिएपछि नेपाल ४१.४ ओभरमा १७० रनमा अलआउट हुन सफल भयो। मलेसियाका अकिल वाहिदले ४ र सैयद अजिजले ३ विकेट लिए।

१७१ रनको लक्ष्य पछ्याएको मलेसियाले बलियो सुरुवात गरे पनि मध्यक्रम धरासायी बन्न पुग्यो। ९४ रनमा मात्र १ विकेट गुमाएको मलेसियाले बाँकी ४९ रन जोड्दा सबै विकेट गुमाउँदै ४०.१ ओभरमा १४३ रनमै समेटियो। मलेसियाका लागि अकिल वाहिदले ५६ र नाजमुस साकिबले ५१ रन बनाए। नेपालका ललित राजवंशीले ३, सन्दीप, दीपेन्द्रसिंह ऐरी र रोहितले २–२ तथा हेमन्त धामीले १ विकेट लिए।

यसअघि पहिलो अभ्यास खेलमा मलेसियालाई ९ विकेटले हराएको नेपाल अब एसीसी प्रिमियर कपको आफ्नो पहिलो खेलमा आउँदो सोमबार बहराइनसँग भिड्नेछ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ