ललितपुरमा चौथो महिला उद्यमी सम्मेलन सम्पन्न

ललितपुर महानगरपालिकाले उद्यमशील महिलाहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले चौथो महिला उद्यमी सम्मेलन आयोजना गरेको छ। सम्मेलनको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका थिए। उनले नेपाललाई समृद्ध बनाउने मार्ग उद्योग तथा उत्पादनमा लगानी रहेको बताउँदै रोजगारी, उत्पादन र बजारिकरणलाई विकासको सूचक माने। मन्त्री भण्डारीले हस्तकलाजस्ता सभ्यतासँग जोडिएका उत्पादनको ब्रान्डिङ गर्नुपर्नेमा जोड दिँदै, आगामी नीति तथा कार्यक्रममा उद्योगसँग सम्बन्धित ३१ बुँदा समावेश गरिने जानकारी दिए।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महिला उद्यमीलाई बिउ पूँजीको माध्यमबाट प्रेरित गरिएको जनाए। उनले ललितपुरको उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महिलाहरूलाई समर्पणका साथ काम गर्न आग्रह गरे। उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले महिलाहरूको उद्यमशीलतालाई प्राथमिकता दिँदै सम्मेलनले प्रेरणा र हौसला प्रदान गर्ने बताइन्। प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले प्रविधिसँग जोडिएको सीप र बजारिकरणमा महानगरले सहयोग गर्दै आएको बताइन् भने महिला विकास शाखाकी शोभा खरेलले ललितपुरको महिला उद्यमशिलता केन्द्र देशका अन्य तहको तुलनामा निकै सक्रिय रहेको बताइन्।

महानगरले विभिन्न क्षेत्रका १० जना महिला उद्यमीलाई दोसल्ला र सम्मानपत्रसहित सम्मानित गरेको छ। सम्मानित हुनेमा सुरुची खड्का, हसना महर्जन, सुप्रिया शाक्य, हेमा श्रेष्ठ, नानीमाया नेपाली, दिलमाया महर्जन, निलिमा बज्राचार्य, दिपा कर्माचार्य, सुनिता बज्राचार्य र रश्मि तण्डुकार छन्। यस सम्मान कार्यक्रमले महिला उद्यमशीलतालाई थप हौसला दिँदै स्थानीयस्तरमा सिर्जना र स्वावलम्बनको भावना बलियो बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ