बाल गायक सचिन परियारको निधन भएको छ । सामाजिक सञ्जालमा भाइरल गायकका रुपमा चिनिनुभएका सचिनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान १३ वर्षको उमेरमा निधन भएको हो । परिवारका अनुसार स्वास्थ्यमा समस्या आएपछि एक साताअघि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा आईसीयूमा राखेर उपचार गरिए पनि उहाँको स्वास्थ्यमा सुधार आएको थिएन् ।
भाइरल बालगायकका रुपमा परिचित सचिनले गाएका गीतहरू समाजिक सञ्जालमा छाएका छन् । सचिनले महानयक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गर्नुभएको थियो भने हास्य श्रृंखला ‘मेरी बास्सै’मा पनि अभिनय गर्नुभएको थियो । ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत उहाँले गाएका गीत रुचाइएका छन् ।
सचिनका बाबु तेजेन्द्र परियारले युट्युब अन्तरवार्तामा छोराको उपचारमा आर्थिक अभाव भएको बताउँदै आउनुभएको थियो । सचिन सानैदेखि शारीरिकरूपमा कमजोर हुनुहुन्थ्यो ।
हंसमुख शैलीमा उहाँले बोलेको ‘के छ हजुर …’ भन्ने मीठो थेगोबाट उहाँ भाइरल नै हुनुभएको थियो । यो थेगोलाई प्रयोग गरेर लाखौं टिकटक बनेका थिए । त्यसयता उहाँको कलाकारिता पनि शुरुवात भएको थियो । कलाकारितामा उहाँ भाइरल मात्रै भएनन् सबैको रोजाइमा पनि पर्न थाल्नुभएको थियो । उहाँको बाल वाक्शैलीले अनायाशै ओठमा मुस्कान छरिदिन्थ्यो । बाल कोपिलका रुपमा चर्चामा आउनुभएका सचिनको जीवन फक्रिन नपाउँदै अस्ताएको छ । परियारप्रति मिलाप परिवार भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछ ।



