काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
यस सहकारीविरूद्ध ६४५ जनाले जाहेरी दिएका छन्। सहकारीका अध्यक्ष जिबी राई थिए। उक्त सहकारीमा २ अर्ब ७४ करोड रुपैयाँ अपचलन भएको पीडितहरूले दाबी गरेका छन्।
प्राप्त विवरण अनुसार जिबी राई र रवि लामिछानेका नाममा २०७८ पुस १ मा ‘इको सेभेन सिटर भ्यान’ किन्न भन्दै ४६ लाख ८८ हजार लगेको खुलेको छ। भ्यान किन्न भनेर लगेको कर्जामध्ये २९ लाख ५२ हजार ४ सय ३६ रुपैयाँ तिर्न बाँकी देखिएको छ।
२०७८ साउन ४ मा पनि सोही सहकारीबाट गोर्खा मिडिया अध्यक्ष राई र प्रबन्ध निर्देशक लामिछानेले ‘फोर ह्विलर’ गाडी किन्न ४६ लाख ९८ हजार कर्जा लगेको देखिएको छ। गाडी किन्दा लिएको ऋणमध्ये ३२ लाख २१ हजार ६ सय ३३ रुपैयाँ ५१ पैसा तिर्न बाँकी देखिन्छ ।
हाल लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्। उनीहरूमाथि सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा अनुसन्धान भइरहेको छ।
अब,बयानका लागि काठमाडौं ल्याइने तयारी छ।



